सुदूरपश्चिमका मुख्यमन्त्री रावल २५ गते विश्वासको मत लिने तयारीमा

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ गते (बुधबार) विश्वासको मत लिने तयारी गरेका छन । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २५ माघमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेगरी तयारी थालिएको जानकारी दिए ।

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता समेत रहेका रावलले २६ माघभित्र विश्वासको मत लिइसक्नुपर्ने छ । सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको मुद्दामा अदालती प्रक्रिया अघि बढेपछि मात्र मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे निर्णय लिने बताउदै आएको थियो ।

सर्वोच्च अदालतले आइतबार चौधरीको मुद्दामा दुवै पक्षलाई बोलाउने आदेश गरेपछि नाउपा सकारात्मक बनेको छ । नाउपाले सर्वोच्चको फैसलापछि १३ वर्ष अघिको आगजनी मुद्दामा कैलाली २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ गरेको विरोधमा घोषणा गरेका आन्दोलनका कार्यक्रम समेत स्थगीत गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका सुदुरपश्चिम प्रदेश सभा संसदीय दलका नेता रामेश्वर चौधरीले पार्टीका संस्थापक रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतको सकारात्मक निर्णय गरेको बताए । उनले सुदूरपश्चिममा मुख्यमन्त्री रावललाई विश्वासको मत दिने सम्बन्धमा दलको बैठक बसेर निर्णय लिने बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.