अत्तरया : प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले आफूले निर्वाचनका समयमा बोलेका कुराहरूबाट विमुख नहुने बताएका छन् । मङ्गलवार नेपाली काँग्रेस क्षेत्र नं. ४ ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन ।
उनले आफूले निर्वाचनका समयमा बोलेका हरेक कुराहरूको ज्ञान अझै भएको र त्यसको झल्को आफूले सङ्घीय संसद् बाट पनि दिइसकेको बताए । ‘निर्वाचनका बेला मैले बोलेका कुराहरूबाट म विमुख हुँदैन’ उनले भने ‘आफ्नो जिम्मेवारीबाट पछाडि हट्ने काम हुँदैन ।’ उनले देशमा भएको संविधानको अपदस्त गर्ने काम हुन लागेको समेत बताए ।
उनले संविधान अपदस्त भयो भने देश गृहयुद्धमा जाने र देश वर्षौ पछाडि धकेलिने हुँदा संविधानको रक्षा गर्न जरुरी रहेको बताए । उनले संविधान गुमाए नेपालको वर्तमान राजनीतिको हैसियत अर्को संविधान निर्माण गर्न सक्ने क्षमताको नभएको समेत बताए । उनले संविधानको संरक्षण र संवद्र्धन गर्ने पहिलो नैतिक कर्तव्य काँग्रेसको भएको बताए ।
त्यस्तै बलायरले गोदावरीधामको विकासका विषयमा आफुले नगरप्रमुखलाई डिपिआर तयारी गर्न भनिसकेको बताए । उनले राजधानी निर्माण गर्नुपर्ने पनि चुनौतीको विषय रहेकाले त्यसका लागी पनि आफु कटिबद्ध भएर लागेको बताए ।
नेपाली कांग्रेसका कैलाली क्षेत्र नं. ४ का सभापति बसन्त रोकाया (ललित) को अध्यक्षतमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यद्धय प्रकाश बहादुर बम र तुलसी देवकोटाको सभागीता रहेको थियो ।