गुलरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भोली देखी सुरु हुने राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा भएको छ । कृष्णपुर नगरपालिका र नगर खेलकुद विकास समितिको प्राविधिक सहयोगमा भोलि देखि सुरु हुने १३ औं राष्ट्रपति रनिङ सिल्डको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने भएका छन् ।
सोमबार कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले प्रदेश प्रमुख जोशीलाई भेटी प्रमुख अतिथिको लागि निमन्त्रणा दिएका हुन् ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका संयोजक एवं नगरप्रमुख हेमराज ओझाले रनिङ सिल्ड प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने बताए । उनले विद्यार्थीहरुलाई विद्यालय स्तरबाटै खेलकुदमा रुचि जगाउने र उनीहरूको प्रतिभा पहिचान गराउने भएकोले यसलाई खेल महोत्सवकै रूपमा लिएर उत्साहका साथ सहभागी हुन पनि नगरपालिकाका सम्पुर्ण खेलाडी एवं खेलप्रेमिहरुलाई आग्रह गरेका छन ।
कृष्णपुर नगरपालिका वडा न ४ मौवाफाँटामा रहेको कृष्ण माविमा राष्ट्रपति रनिङ सिल्ड आयोजना हुनेछ । प्रतियोगितामा नगरपालिका भित्रका १३ सामुदायिक र १० संस्थागत गरि जम्मा २३ विद्यालय सहभागी हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका सचिवालय संयोजक एवं कृष्ण माविका प्रध्यानाध्यापक गोपाल दत्त बडुले बताए ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको मैदान निर्माण लगायत अन्य सम्पुर्ण तयारी पूरा भएको कृष्णपुर नगर खेलकुद विकास समितिका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा १०५ स्वर्ण पदकका लागि २३ विद्यालयका एक हजार भन्दाबढी खेलाडीहरुले सहभागिता जनाउनेछन् । प्रतियोगितामा भलिबल, कबर्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल खेलाइनेछ ।