सुखड : कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा घोडाघोडी महोत्सव २०७९ हुने भएको छ । घोडाघोडी उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव हुने मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
“कला सांस्कृतिक कृषि, पर्यटन र व्यापार ,समृद्ध घोडाघोडी विकासको आधार” भन्ने नाराका साथ यही फागुन १८ गते देखि २८ गते सम्म सुखडको हेलि प्याडमा महोत्सव हुने भएको हो । विश्व रामसार सूचिमा पर्न सफल पर्यटकीय क्षेत्रका रुपमा रहेको घोडाघोडी तालको प्रचारप्रसारका लागी महोत्सव गर्न लागिएको घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गा दत्त जोशीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
महोत्सव बाट उठेको आम्दानीले उद्योग वाणिज्य सङ्घको भवन निर्माणका साथै यस क्षेत्रको सामाजिक विकासमा सहयोग गर्ने लक्ष्य रहेको महोत्सव मूल समिति संयोजक जोशीले बताए । महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहन उनले बताए ।
महोत्सवमा यस क्षेत्रका सांस्कृतिक भेसभुसा झल्किने स्थानीय कला संस्कृतिको पर्दशन गरिनुका साथै व्यापारिक, व्यावसायिक र कृर्षि स्टल समेत रहने समितिका महासचिव भवानी प्रसाद ढकालले बताए ।
महोत्सवले गर्दा स्थानीय कला सांस्कृतिकको जगेर्ना गरी विकासमा टेवा पुग्ने, स्थानीय उत्पादनहरूलाई बजारमुखी बनाई बजार सम्म सहज पहुँचको व्यवस्था मिलाई टेवा पुग्ने र स्थानीय स्तरमा रहेको विभिन्न जात जातिहरूको कला संस्कृतिको पहिचान गरी प्रर्बधनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
१० दिन सम्म सञ्चालन गरिने महोत्सवमा करिब २५/३० लाख खर्च र सोही अनुसारको आम्दानी रहने अनुमान गरिएको आयोजकको दाबी छ । उक्त महोत्सवलाई सहयोग गरी दिन समेत आयोजकले सबैलाई आग्रह गरेको छ ।
महोत्सव अवलोकनका लागी विद्यार्थीका लागी ५० र अन्य सर्वसाधारणका लागी ८० रुपैयाँका दरले टिकट दस्तुर लाग्ने आयोजकले जनाएको छ।
