विवाह गर्न वडाको स्वीकृति अनिवार्य

अछाम : जिल्लाको कमलबजार नगरपालिका–५ का बासिन्दाले छोराछोरीको विवाह गर्नुपरेमा वडामा जन्मदर्ता पेस गरी उमेर पुगेको स्वीकृति लिनुपर्ने भएको छ ।

स्वीकृति नलिई विवाह गरेमा सामाजिक सुरक्षा, बालपोषण, विभिन्न सिफारिस काठको पुर्जीसमेत रोकिने वडाले जनाएको छ । वडा अध्यक्ष सत्यराज तिमिल्सैनाका अनुसार वडाभित्र विवाह हुने दुलाहा वा दुलहीको जन्मदर्ताको प्रमाणपत्र वडा सदस्यलाई वा वडामा बुझाएर स्वीकृति लिएपछि मात्र विवाह गर्न पाउने छन् ।

बालविवाह नियन्त्रण गर्न वडा समितिमा छलफल गरेर सो निर्णय लिइएको वडा अध्यक्ष तिमिल्सैनाले बताए । सो व्यवस्थाले बालविवाहमा कमी आउने अपेक्षा वडाले राखेको छ । डेढ वर्षको अवधिमा सो वडामा भएका १० वटा बालविवाहसमेत दुवै पक्षको समन्वयमा रद्द गरिएको वडा अध्यक्ष तिमिल्सैनाको भनाइ छ ।

उमेर नपुगेर विवाह गरेर आएका सात र विवाह गरेर गएका तीन जना केटीको विवाह उनका आफन्तसँगको समन्वयमा रद्द गरिएको बताइएको छ । वडालाई नै बालमैत्री बनाउन क्रियाशील रहेकाले त्यसका सूचकका बारेमा छलफल भइरहेको भनाइ वडा अध्यक्षको छ ।

बलविवाह रोक्नका लागि कुइकाको वडाले गरेको निर्णयलाई जिल्लाभरि सकारात्मक भएको प्रतिक्रिया आइरहेका छन् । नेपालको कानुनी व्यवस्थाअनुसार विवाहयोग्य उमेर २० वर्ष मानिएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.