प्रधानमन्त्रीद्वारा गेटाको स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण

आजै कञ्चनपुरका ठूला विकास योजनाको अनुगमन तथा विभिन्न कार्यक्रममा सहभागी हुदै

अत्तरिया : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहाल (आज) सोमबार पहिलो पटक सुदूरपश्चिम पुगेका हुन् ।

आइतबार मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै प्रधानमन्त्री दाहाल सो विश्वविद्यालयको पछिल्लो अवस्थाको निरीक्षण र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागिता जनाउन उनी आज यहाँ पुगेका हुन् ।

प्रधानमन्त्रीले कैलाली र कञ्चनपुरका ठूला विकास योजनाको अनुगमन निरीक्षण गर्ने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्रीले विकासे योजनाको निरीक्षण अनुगमनको सुरुवात कैलाली र कञ्चनपुरबाट गर्न लागेको प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।

दाहालसंगै निरीक्षणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायत सहभागी छन् ।

प्रधानमन्त्री दाहालले आजै कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको निरीक्षण पनि गर्ने छन् । त्यसपछि नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने छन् ।

यस्तै आजै महेन्द्रनगरको खुलामञ्चमा सुरु हुने १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.