अत्तरिया : कैलालीको अत्तरिया क्षेत्रमा स्थानियले अपेक्षित शान्ति सुरक्षा नभएको गुनासो गरेका छन् । अत्तरिया क्षेत्रको शान्ति, सुरक्षा कायम गर्नको लागि डिएसपी नेतृत्वको इलाका प्रहरी कार्यालय रहेको भएपनि अपेक्षित शान्ति सुरक्षाको अवस्थामा सुधार आउन नसकेको भन्दै यस क्षेत्रका नागरिकले गुनासो व्यक्त गरेका हुन ।
ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा नयाँ डिएसपी गणेश बराल आएपछि उनले बिहीबार यस क्षेत्रका सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधी राजनीतिक दलका प्रतिनिधी तथा सर्वसाधारण संग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरेका थिए । कार्यक्रममा बोल्दै अधिकांशले यस क्षेत्रमा अपेक्षित शान्ति सुरक्षा नभएको गुनासो गरेका थिए ।
राजनीतिकर्मी लोकराज पाण्डेय आगोले सुदुरको नौवटै जिल्लाको सदरमुकाम रहेको अत्तरियामा दिनप्रतिदिन बिभिन्न घटनाहरु घट्दै गईरहेको बताए । ईलाका प्रहरी कार्यालयमा धेरै कार्यालय प्रमुख फेरीए तर यस क्षेत्रका नागरिकले अपेक्षा गरे अनुसार शान्ति सुरक्षा नपाएकोे गुनासो गरे । ‘धेरै पटक ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुखहरुलाई स्वागत गरियो तर जादा खेरी माला हालेर अहिले सम्म बिदाई गरिएन’ उनले भने ‘त्यती धेरै उत्कृष्ठ काम गरेर सम्मान गर्नुपर्ने मैले देखेन् ।’
अत्तरियामा बिगतका दिनमा चोरीका धेरै घटनाहरु घटेको तर ईलाका प्रहरी कार्यालय मालाखेतीले अहिले सम्म पनि कुनै चोरहरु समाते भनेर सार्वजनिक गर्न नसकेको बताए । उनले अत्तरियाका सुनचाँदी व्यवसायीलाई एक अज्ञात समुहले गोली हानेर घाईते बनायो तर अहिले सम्म प्रहरीले त्यसको कुनै टुँगो लगाउन नसकेको बताए । ‘अत्तरियामा धेरै लुटपाटका घटनाहरुभएका छन् । यहाँ खुल्ला रुपमा अपराधि घुमेका छन’ उनले भने ‘अत्तरियामा चारैतिर सुरक्षाकर्मी बस्ने भएपनि यस क्षेत्रको सुरक्षा शुन्य छ ।’
स्थानीय राजनीतिकर्मी टंक प्रशाद कोइरालाले अत्तरिया क्षेत्रमा बढ्दै गएको वेश्वावृति नियन्त्रणमा आउन नसकेको बताए । उनले पछिल्लो समय अत्तरिया क्षेत्र वेश्वावृतिका नाममा चिनिन थालेको बताए । अपराधिक घटनामा राजनीतिकरण गरिदा पनि यस क्षेत्रमा अपराधका घटना नियन्त्रणमा आउन नसकेको कोइरालाको भनाई छ । त्यस्तै अर्का स्थानिय राप्रपाका नेता दुर्गा कुमार पोखरेलले अत्तरिया क्षेत्रमा वेश्यावृत्ती मौलाउँदै गएकोले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।
गोदावरी होटल व्यवशायी संघकी अध्यक्ष धना देवी चोखालले दर्ता नै नभएका होटलहरुले वेश्यावृत्ती गर्दै आएकाले त्यसको नियन्त्रणका गर्न प्रहरी चनाखो हुनुपर्ने बताइन् ।
राजनीतिकर्मी नन्द लाल भट्टले खुला सीमानाका कारण पनि यस क्षेत्रमा विकृति विसंगती बढेको बताए । उनले भारतबाट नै ड्रक्स नेपाल भित्रिरहेको बताए । उनले प्रहरीले प्रहरीले गरेका काम कम्तिमा ३\३ महिनामा सार्वजनिक गरिनुपर्ने बताए । राजनीतिकर्मी बसन्त रोकायाले अत्तरिया क्षेत्र मिश्रित बस्ती बस्ने सामाज भएकाले यहाँको सुरुक्षा चुनौती बढी भएको बताए । उनले आफूले राजनीतिको बलमा कुनै प्रहरीमाथि दवाद दिने काम नगरेको बताए ।
परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकायाले प्रहरीलाई दवावमा नपरी वास्तविक अपराधीलाई कार्वाहि गर्न आग्रह गरीन् । उनले धेरै ठाउँमा प्रभावितले न्याय नपाएर पिडकले न्याय पाउने गरेको हुन्छ तर आगामी दिनमा यस्तो नगर्न सुझाव दिईन् ।
डिएसपी बरालले शान्ति सुरक्षा कायम गर्न सबैले सहयोग गर्नेमा आफु आसावादी रहेको बताए । उनले नागरिक पनी बर्दीबिनाको प्रहरी नै भएकोले हरेक कुरामा चनाखो भएर बस्नुका साथै प्रहरीलाई सकारात्मक सहयोग गर्नुपर्ने बताए । अपराध भएपछी अनुसन्धान गर्नुभन्दा अपराध हुन नै नदिनु बेस हुने भन्दै उनले आफ्नो जिउज्यान, व्यापार व्यवसाय लगायत धनसम्पत्तिको ख्याल गर्न आग्रह गरे । उनले आगामी दिनमा देखिने गरी काम गरेर कम्तिमा ३ महिनामा प्रहरीले यस क्षेत्रमा गरेका काम सार्वजनिक गर्ने बताए ।