धनगढी : सरकारले कैलाली सहित १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधी खुवाउने अभियान सञ्चालन गरेको छ । हात्तीपाइले नियन्त्रण हुन नसकेका झापा, मोरङ, महोत्तरी, धनुषा, बारा, सर्लाही, रौतहट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा आज देखि यो अभियान सुरु गरेको हो ।
कैलालीमा जिल्ला समन्वय समितिको प्रङ्गणमा स्वास्थ्य कार्यालयको आयोजनामा अभियान शुभारम्भ गरिएको छ । अभियानको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले औषधि सेवन गर्दै शुभारम्भ गरे । उनले सम्पूर्ण जिल्लाबासीलाई औषधि सेवन गरि अभियानलाई सफल पार्न अनुरोध गरे ।
जिल्लामा नौ लाख २६ हजार आठ सय ८८ जनसंख्या रहेकोमा आठ लाख ८० हजार छ सय ४७ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमख लाल बहादुर धामीले वताए ।
‘आम औषधी सेवा’ नाम दिएको यो अभियान १५ गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यी जिल्लामा अपेक्षित रूपमा रोग घट्न नसकेपछि आम औषधि सेवन कार्यक्रम राखेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । १५ जिल्लाका ८४ लाख ९८ हजार ५०० जनालाई औषधी खुवाउने सरकारको लक्ष्य छ ।
महाशाखाका आम औषधि सेवन कार्यक्रमका लागि ९ हजार ५०० स्वास्थ्यकर्मी र १३ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएका छन् । वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिक स्थललगायतमा बुथ राखि औषधी खुवाईदै छ ।
दुई वर्ष नपुगेका बालबालिका,गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीले हात्तीपाइलेविरुद्धको औषधी नखुवाउन मन्त्रालयले आग्रह गरेको छ ।