कृष्णपुरको रैकवार स्वास्थ्य चौकीमा बृहत नि:शुल्क स्वास्थ्य शिविर आयोजना
४ सय १६ जनाले गराए स्वास्थ्य परिक्षण
गुलरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ मा रहेको रैकवार स्वास्थ्य चौकिमा बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। नगरपालिकाको आयोजना र केजि अस्पताल धनगढीको प्राविधिक सहयोगमा उक्त शिविर संचालन गरिएको हो ।
शनिबार रैकवार स्वास्थ्य चौकिमा एक औपचारिक कार्यक्रममा बिच नगरप्रमुख हेमराज ओझाले उक्त नि:शुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरेका हुन । नगरपालिकाको वडा नं. ७, ८ र ९ का नागरिकहरुलाई लक्षित गरि उक्त स्वास्थ्य शिविर संचालन गरिएको हो।
नि:शुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन फिजिसियनद्वारा चेकजाँच, हाड जोर्नी तथा नसा रोग सम्बन्धि चेकजाँच,स्त्री तथा प्रसुती रोग सम्बन्धि चेकजाँच, सर्जरी सम्बन्धि सेवा, दन्तरोग सम्बन्धि चेकजाँच र नि:शुल्क हाइड्रोसिलको शल्यक्रिया सेवा उपलब्ध थिए ।
नागरिकसँग मेयर कार्यक्रमको दोश्रो चरण अन्तर्गत विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख हेमराज ओझाले बताए । उनले विकास निर्माणका कामहरु निरन्तर भैरहने र केही ढिला भए पनि त्यति फरक नपर्ने तर मानवको स्वास्थ्य संवेदनशील विषय भएकोले आफुले कृष्णपुरका जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताए ।
नगरप्रमुख ओझाले नियमित भैराख्ने विकासे बजेटबाट रकम कट्टी गर्दै स्वास्थ्य क्षेत्रमा बढी रकम छुट्याएको समेत बताए । स्वास्थ्य क्षेत्रप्रती आफू संवेदनशील रहेको र नागरिकका पक्षमा केही न केही देखिने गरि काम गर्न खोजेको भन्दै आगामी दिनमा नागरिकसँग मेयर कार्यक्रमलाई बृहत बनाउने सोच रहेको नगरप्रमुख ओझाले बताए ।
उक्त स्वास्थ्य शिविरमा ४१६ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएको वडा न ८ का अध्यक्ष दिनेश खड्काले बताए । केजि अस्पताल धनगढीका डाइरेक्टर डा.दिपक सिंहले शिविरमा सेवा लिन आएका सेवाग्राहीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेका हुन ।
डा.दिपक सिंहले आफुहरु स्थानीय तहसँग काम गर्न इच्छुक रहेको बताउँदै कृष्णपुरका जनतासँग जोड्ने मौका दिएकोमा नगरप्रमुखलाई धन्यवाद समेत दिए । डा.दिपक सिंहले कृष्णपुर नगरपालिकाको पहिचान खुल्ने कागजसहित अस्पतालमा सेवा लिन आए कृष्णपुरका नागरिकलाई सहुलियतमा सेवा दिने प्रतिबद्धता पनि व्यक्त गरे ।
कृष्णपुर नगरपालिकाले माघ ३ देखि २० गतेसम्म नागरिकसँग मेयर (स्वास्थ्य सम्बन्धि ) कार्यक्रम आयोजना गरेको थियो ।त्यसैगरी धनगढी नेत्रालयसँग सहकार्य गर्दै १० दिने आँखा शिविरको पनि आयोजना गरिएको थियो ।
कृष्णपुर नगरपालिका वडा न ८ का अध्यक्ष एवं रैकवार स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष दिनेश खड्काको अध्यक्षतामा सम्पन्न उक्त स्वास्थ्य शिविरको प्रमुख अतिथिमा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा रहेका थिए । त्यस्तै नगर स्वास्थ्य चौकिको टिम, विभिन्न सामाजिक संघ संस्थामा आबद्ध व्यक्तिहरू र सयौंको संख्यामा सेवाग्राहीको उपस्थित रहेको थियो ।