अत्तरिया : कैलालीको गोदावरीमा अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ ।
गोदावरी नगरपालिका–६ को खैरानास्थित पूर्वपश्चिम राजमार्गमा माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसले ठक्कर दिँदा सोही स्थानकी ६५ वर्षीया बाचुबटै आलेमगरको मृत्यु भएको थियो । सोहि बिरोधमा स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी आलेमगरको उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउदै गर्दा मृत्यु भएको थियो । घटनाको विरोधमा स्थानीयले केहीसमय पूर्वपश्चिम राजमार्ग टायर बालेर अवरुद्ध गरेका थिए ।
अहिले आवागमन सुचारु भइसकेको डिएसपी चन्दले बताए । चालक धनगढी उपमहानगरपालिका–१३ मोहनपुरका ३५ वर्षीय तुल्सीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने स्कुल बस चालकलाई नियन्त्रणमा लिएपछि राजमार्गमा गरिएको अवरोध हटेको हो ।