अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले खखडेहराको विदा संसोधन गरेर फागुन ३० गते कायम गरेको छ । यसअघि प्रदेश सरकारले २०७९ बैसाख १ गते राजपत्रमा प्रकाशित गरेको विदा सम्बन्धी सूचनामा चैत्र १ गते कायम गरिएकोमा उक्त मिति संसोधन गरिएको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता बिष्णु दत्त अवस्थीद्धारा जारी सूचनामा चैत १ गतेको सट्टा फागुन ३० गते खखडेहराको विदा दिने प्रदेश सरकारको फागुन २८ गते बसेको मन्त्रिपरिषद्बाट निर्णय भएको उल्लेख छ ।
उक्त विदा कैलाली र कञ्चनपुर जिल्लामा लागु हुने सूचनामा उल्लेख छ । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा पर्व मनाउने गरेका छन । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।