दुर्गालक्ष्मीको स्ववियु सभापतिका उम्मेदवार ओझाका एजेण्डा सार्वजनिक

अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका उम्मेदवार लोक राज ओझा (एलआर) ले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । टिम सहित स्वतन्त्र उम्मेदवारी दिएका ओझाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले क्याम्पस प्रशासन र विश्वविद्यालयको परिवर्तनका लागि आफू सबै कुरा त्यागेर अगाडी बढेको बताए । उनले आफु स्ववियु सभापतिमा निर्वाचित भए क्याम्पसमा शैक्षिक क्यालेन्डर बर्षको सुरु मै विद्यार्थीको हातमा पुगाइने बताए । उनले क्याम्पसमा प्रदान गरिने छात्रवृति वास्तविक गरिव, अपाङ्गता भएका विद्यार्थीलाई पाउने व्यवस्था गरिने बताए ।

उनले क्याम्पसको पुस्तकालयबाट एउटा मात्रै पुस्तक पाइने गरेकोमा त्यसको संख्या बढाइने बताए । उनले क्याम्पसमा छात्राबास निर्माणका लागि पनि आफूले आवाज उठाउने बताए । उनले हाल क्याम्पसमा आकस्मिक उपचार केन्द्र नभएकाले त्यसका लागि पनि आफूले पहल गर्ने बताए । उनले छात्राहरुका लागि क्याम्पसमा स्यानेटरी प्याडको पनि व्यवस्था गरिने बताए ।

उनले अपाङ्गता भएका विद्यार्थीहरुलाई पढ्न असहज भएकाले उनीहरुका लागि अपाङमैत्री वातावरण सृजना गरिने बताए । क्याम्पसमा शिक्षक समयमा उपस्थित नहुने समस्या भएकाले त्यसको सुधारका लागि पनि आफूले काम गर्ने उनले बताए । उनले क्याम्पसमा अतिरिक्त क्रियाकलाप संगै स्ववियु सप्ताह अन्तरगत विभिन्न कार्यक्रम संचालन गरिने बताए ।

उनले क्याम्पसमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन पनि स्ववियुमार्फत पहल गरिने उनले बताए । उनले आफुले विगतमा पनि क्याम्पस र विद्यार्थीको हक अधिकारका लागि थुप्रै काम गरेको बताए । विगतका कामको पनि विद्यार्थीले मुल्याङ्कन गरेर आफूलाई विजयी गराउनेमा आफू ढुक्क रहेको उनले बताए ।

हेर्नुहोस् भिडियो 

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.