कैलालीका ६ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै

अत्तरिया : कैलालीका करिब छ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो ।

यार्ड नेपालका अध्यक्ष वंशीराम चौधरीले विद्यार्थीले आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने वातावरण नआओस् भन्नका लागि छात्रवृत्ति प्रदान गरिरहेको बताए । उनले ताइवानमा रहेको चुजी च्यारिटी फाउन्डेसनको आर्थिक सहयोगमा जिल्लाका तीन वटा पालिकामा छात्रवृत्ति वितरणको कार्यक्रम चलिरहेको बताए ।

उनले देशको आर्थिक स्थिति जर्जर अवस्थामा हुँदा अपेक्षाअनुरुप आर्थिक सङ्कलन नभइरहेको अवस्थामा छात्रवृत्ति प्रदान गर्दा विद्यार्थीलाई राहत हुने बताए । उनले आर्थिकमन्दीका समयमा बालबालिकाको उज्जवल भविष्यका लागि नयाँ शैक्षिक सत्रमा कपी किताब र ड्रेस किन्न छात्रवृत्तिको रकमले सहुलियत हुने विश्वास व्यक्त गरेका छन् ।

गोदावरीमा करिब एक हजार दुई सयदेखि एक हजार पाँच सयको हाराहारीमा विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने बताइएको छ । यार्ड नेपालले धनगढीका करिब ७३, गोदावरीका ५० र कैलारीका एक दर्जन जति विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिरहेको छ । जसमा सामुदायिक विद्यालय र गुठीद्वारा सञ्चालित विद्यालय समावेश गरिएका छन् ।

कैलाली जिल्लाका युवा मिलेर २०६७ सालमा स्थापना भएको यार्ड नेपाल स्वयंसेवक संस्थाका रुपमा रहेको छ । शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको यसले छात्रवृत्तिको कार्यक्रमका साथै प्रजनन तथा यौन स्वास्थ्य शिक्षासम्बन्धी धनगढी, गोदावरी र कृष्णपुर नगरपालिकामा काम गरिरहेको यार्डका अध्यक्ष वंशीराम चौधरीले बताए । त्यसका साथै टीकापुर र भजनी नगरपालिकामा डिजिटल स्टोरी टेलिङ तथा डिजिटल एजुकेशनसम्बन्धी १५ वटा विद्यालयमा उक्त संस्थाले काम गर्ने बताइएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.