अत्तरिया : कैलाली सहित सुदुरपश्चिममा हिजो राति देखी वर्षा भइरहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले कैलाली सहित सुदूरपश्चिमका विभिन्न ठाउँमा वर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भाग र तराई भू–भागका थोरै स्थानहरुमा चट्याङ्ग, हावा–हुरी, असिनासहित वर्षाको सम्भावना रहेको बताएको छ । महासाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग, हावा–हुरी, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । राति पनि पहाडी भू–भाग तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग, हावा–हुरी, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार भोली कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बिहिवार देशका पहाडी भुभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।