डडेल्धुरा : नेकपा एमाले, डडेलधुराले नेपाली कांग्रेस बीपीसँग गरेको चुनावी तालमेल भंग भएको घोषणा गरेको छ । एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाएको थियो भने प्रदेशसभाको क र ख दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो ।
त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो । तर आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस बीपीले प्रदेशसभा ख मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाएको छ ।
एमाले, डडेलधुराको शुक्रबार बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस बीपीसँग गरिएको चुनावी तालमेल भंग गरी एकल रुपमा निर्वाचनमा होमिने निर्णय आजको बैठकले गरेको छ ।’
यो निर्णय कार्यान्वयन भए डडेलधुराको प्रतिनिधिसभामा एमालेको उम्मेदवार कोही हुने छैनन् । प्रदेशसभामा भने क मा पठान सिंह बोहरा र ख मा गजेन्द्रबहादुर शाही उम्मेदवार छन् ।