अत्तरिया : कैलालीको अत्तरिया बजारका व्यवसायीहरुले गोदावरी नगरपालिका घेराउ गरेका छन । नगरपालिकाले बजार क्षेत्रका पसल अगाडी लगाईएका टिन हटाउन थालेपछि त्यसको विरोध गर्दै नगरपालिका घेराउ गरेका हुन् ।
शुक्रबार बिहान अत्तरिया चोकमा सडक क्षेत्रमा पर्ने पसलका पाली हटाउन नगरपालिकाले जेसीवी चलाउन सुरु गरेको थियो । व्यवसायिहरुले भने नगरपालिकाले अन्य क्षेत्रको अतिक्रम नहटाएर बिना कारण चोकमा रहेका व्यवसायीलाई दुःख दिन थालेको भन्दै अवरोध गरेका थिए ।
उनिहरुले पसल अगाडी लगाईएका टिन मात्रै भत्काउने काम गरेको तर बजार व्यवस्थापन गर्नमा नगरपालिकाले कुनै चासो नदिएको भन्दै आक्रोसित भएका थिए । नगरपालिकाले बल प्रयोग गरेर जबरजस्ती पसल अगाडी लगाईएका टिन (छत्जा) हटाउने काम मात्रै गरिरहेको व्यवसायीहरुले बताए ।
नगरपालिकाले बजारका नालि अहिलेसम्म सरसफाई नगरेका कारण बर्षा भएको बेला व्यापारीले सास्ती भोगिरहेका व्यवसायी सुदन भट्टले बताए । उनले चोकमा राजाको मुर्तिमा पानि पर्नेगरी लाखौ रकम खर्च गरेर छहरा बनाउनुको सट्टा बजारमा आवश्यक कामलाई वेवास्ता गरेको प्रति आक्रोश पोखे । गोदावरी नगरपालिकाले हरेक काममा खर्च बढाउदै गएको तर नगरबासिलाई सुबिधा हुने काममा भने कुनै चासो नदेखाएको उनले बताए ।
उनले बजारका पसल अगाडिका टिन मात्रै हटाएर बिकास नहुने बताउदै पहिले अन्य आवश्यक काम गर्न जरुरी रहेको बताए । बजारमा आवश्यक सिसिटिभि क्यामेरा, सडकबत्ती लगायतका कामहरु यथावत राखेर अनावश्यक कामहरु अगाडि बढाएर नगरपालिकाले गलत निर्णय गरेको व्यवसायी भट्टले बताए ।
उनले नगरमा सयौ घरहरु बिना नक्सापास गरी बनेका र नियम बाहिर रहेका कामहरु हुनेगरेका भएकाले नगरपालिकाले आयस्रोत हुने काम लाई पनि मध्यनजर गर्नुपर्ने बताए । नगरपालिकाले बजारमा बिकासका राम्रा काम गरे अत्तरियाका व्यवसायीहरुले पसल अगाडिका टिन आफै हटाउनमा साथ दिने बताए।
त्यस्तै व्यवसायी दुर्गा कडायतले पसल अगाडी पाली नबनाएर बर्षातको पानी पसल भित्र जाने गरको बताइन् । उनले नगरपालिकाले खोला नालाको अतिक्रमण नहटाउने तर, व्यवसायीले पसल अगाडी निर्माण गरेका पाली मात्रै हटाउने कार्य गलत भएको बताईन् ।
बिकास र समान अधिकार आफुहरुको माग रहेको अर्का व्यवसायी बिरबहादुर महराले बताए ।
व्यवसायी जानकी बोहराले व्यवसायी गर्न अप्ठ्यारो भएकाले सानो टिनको छाना जोडेको भएपनि नगरपालिकाको नियम अनुसार आफुहरुले हटाएको तर अन्य केहि ठाउमा भने यथावत राखिएको उनको भनाई छ । उनले छानोले कसैको अहित हुने नदेखिएको तर पनि अन्य ठाउमा सुधार हुने बित्तिकै आफ्नो अगाडिका छाना स्वयम् हटाउने बताईन् ।
व्यवसायीहरुले तत्काल पाली नहटाइदिन माग गरेर नगरपालिका घेराउ गरेपनी नगरपालिकाले भने सडक अतिक्रमण हटाउने काम नरोकिने जनाएको छ । नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले कार्यपालिकाबाट निर्णय गरेर सडक किनाराका अतिक्रमण हटाउने निणय भएकाले उक्त काम नरोकिने बताए ।
उनले ७ दिने सूचनाको बेवस्था गरिएपछि नगरपालिकाले जेसीवी चलाउन बाध्य भएको बताए । यसअघि अतिक्रमण हटाइएका ठाउँमा पुनः अतिक्रमण हुन थालेपछि आफूहरुले उक्त कदम चालेको प्रवक्ता भट्टको भनाइ रहेको छ ।