अत्तरिया : सुदुरपश्चिमका चर्चित गायक चक्र बमको अध्यक्षतामा जन्मथली मञ्च नामक संस्था गठन गरिएको छ । देउडामा फ्युजन मिसाएर निकै चर्चामा रहेका गायक बमले जन्मस्थलको संस्कृति, कला, गित, संगित तथा भाषाको संरक्षण गर्ने उदेश्यका साथ जन्मथली मञ्च गठन गरेका हुन् ।
‘विविधतामा एकता हाम्रो पहिचान, स्थानीय कला र संस्कृति हाम्रो शान’ नारा बोकेको मञ्च आफूहरुले स्वस्फुर्त रुपमा गठन गरेको अध्यक्ष बमले जानकारी गराए ।
‘मैले लामो समय देखि गित गाएपनि मैले समाजका लागि त केही पनि गरेको रहेनछु भन्ने लाग्यो । केहीले देउडालाई राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा चिनाए भने, केहीले मलाई देउडा गित विगाडे भने’ उनले भने ‘म अहिले जे जसरी भएपनि देउडा गाएरै काठमाण्डौमा बसेर सर्भाइव गर्ने भएको छु । त्यसैले म अब यही देउडा, कला, संस्कृति, भाषा र जन्मथलीलाई केही योगदान दिने समय आएको छ । त्यसका लागि मञ्चको गठन भएको हो ।’
आफु चलेकै समयमा समाजलाई केही दिन सकु भन्ने उदेश्यले संस्थाको थालनी गरिएको गायक बमको भनाइ छ । बमको अध्यक्षतामा गठन गरिएको जन्मथली मञ्चको तदर्थ समितिको उपाध्यक्षमा गायक सुरेश चोखाल र सचिवमा साहित्यकार खेम बतास रहेका छन् ।
बमको अध्यक्षतामा गठन गरिएको जन्मथली मञ्चको शनिबार पत्रकार सम्मेलन गरी कैलालीको अत्तरियामा सार्वजनीकरण गरेका हुन् ।