अत्तरिया : कैलालीको मालाखेती अस्पतालमा प्रसुति सेवा अप्रेशनबाट पनि शुरु गरिएको छ । गोदावरी-३ मा रहेको मालाखेती अस्पतालमा आजबाट प्रसुति सेवा अप्रेशनबाट शुरु गरिएको हो ।
अस्पतालले पहिलो पटक सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी गोदावरी नगरपालिका-१२ की सानु रावलको शल्यक्रिया गरेको छ । रावलको शल्यक्रिया गर्नुपर्ने स्थिती देखिएपछि अस्पतालको टिमले बाहिर रेफर नगरेर अस्पतालमै शल्यक्रिया गरेको हो ।
मालाखेती अस्पतालका अनुसार अस्पतालका डा.अनवेश कोइरालाको टिमले रावलको शल्यक्रिया गरी शिशुलाई सुरक्षित जन्म दिएको छ । कोइराला संगै मेट्रोन यसोदा ढकाल, हेमन्ती अवस्थी, मञ्जु ऐर, सञ्जय फुलारा तथा एनेस्थेसिया सञ्जय सिहंको टिमले रावलको सफल शल्यक्रिया गरेको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा.नर बहादूर मौनीले यो संगै अस्पतालबाट अब निरन्तर अप्रेशन सेवा शुरु भएको बताए । बिगतमा सामान्य अप्रेशन गर्नुपर्ने देखिएपनि बाहिर रेफर गर्नुपर्ने स्थितीको अब अन्त्य भएको उनले बताए ।
अस्पतालमा अप्रेसन सेवा सुचारु गर्नको लागि केही दिन अगाडी मात्रै अप्रेसन थ्रियटर निर्माण गरिएको थियो । जसका लागि हाम्रो गोदावरी हाम्रो अभियानले कोरोना महामारीका बेला संकलन गरेको रकमले निर्माण गरिएको अध्यक्ष मौनीले बताए । उनले अप्रेसन थ्रियटरका उपकरण अझै अपुग रहेकाले उक्त उपकरण अभियान मार्फत केही दिन भित्रमा उपलब्ध हुने बताए ।