गुलरिया : कञ्चनपुरको कृष्णपुर स्वास्थ्य चौकीको निरिक्षण गरिएको छ । नगरपालिकाको वडा नम्बर ५ गुलरियामा रहेको उक्त स्वास्थ्य चौकीको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा.सर्वेश शर्मा लगायतको टोलीले आज (बिहीबार) निरीक्षण गरेका छन ।
निरिक्षणको क्रममा महाशाखा प्रमुख डा.शर्माले स्वास्थ्य चौकीले प्रदान गरेको सेवा र नगरप्रमुखको स्वास्थ्य सम्बन्धि भावी योजनाको प्रशंसा गर्दै धन्यवाद दिएका छन् । उनले आगामी दिनमा कृष्णपुरको स्वास्थ्य क्षेत्रलाई आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
डा.शर्मासँगको भेटघाटको क्रममा नगरप्रमुख हेमराज ओझाले कृष्णपुर स्वास्थ्य चौकिले प्रदान गर्दै आएका सेवा र आगामी दिनमा प्रवाह गर्ने सेवाबारे जानकारी गराएका थिए । उनले आफू निर्वाचन भएर आएदेखी नै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।
नगरप्रमुख ओझाले स्वास्थ्यका क्षेत्रमा केही दीर्घकालीन प्रवाह पार्ने काम गर्न खोजिरहेको बताउँदै कृष्णपुरको स्वास्थ्य अवस्था र भावी योजना बारे महाशाखा प्रमुख डा. शर्मालाई जानकारी गराएका हुन् । उनले समग्र कृष्णपुरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै कृष्णपुर स्वास्थ्य चौकीलाई सुविधासम्पन्न नगर अस्पताल बनाउने योजना रहेको बताए ।
कृष्णपुर नगरपालिकाको मुख्य बजार क्षेत्र गुलरियामा रहेको कृष्णपुर स्वास्थ्य चौकी चौबीसै घण्टा निःशुल्क सेवा दिने देशको पहिलो स्वास्थ्य चौकि हो । हाल स्वास्थ्य चौकिले विभिन्न चेकजाँच सहित औषधि पुर्ण रूपमा निःशुल्क दिदै आएको छ । नगरपालिकाले सुत्केरी, जेष्ठ नागरिक र असाहयलाई निःशुल्क एम्बुलेन्स सेवा, धनगढी रक्त संचार केन्द्रसँग समन्वय गरि आवश्यक अनुसार कृष्णपुरबासीलाई निःशुल्क रगत उपलब्ध गराउदै आएको छ ।
नौ ओटा वडा रहेको कृष्णपुरमा हाल दुई ओटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् भने केही दिनमै थप एउटा एम्बुलेन्स खरिद गर्ने योजना रहेको नगरप्रमुख ओझाले बताए ।
स्वास्थ्य चौकी निरीक्षणमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा.सर्वेश शर्मा सहित राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र काठमाडौका वरिष्ठ जनस्वास्थ्य प्रशासक बाबुराम भुषाल, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगाना, स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत दिपक राज भट्ट, सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनार रहेका थिए ।
त्यस्तै कृष्णपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ५ का वडाअध्यक्ष टेक पाण्डे, वडा नम्बर ४ का वडाअध्यक्ष धर्म बहादुर सिंह, कृष्णपुर स्वास्थ्य चौकिका डा.दिलिप देउवा ,स्वास्थ्य चौकी इन्चार्ज वंशीराज भट्ट लगायतको उपस्थिति रहेको थियो । नगरप्रमुख ओझाले महाशाखा प्रमुख डा.शर्मालाई गत महिना भेटेर नगरपालिका भ्रमणको लागि निमन्त्रणा गरेका थिए ।