काठमाडौं : आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो ।
चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् ।
जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।
एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।
सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् ।
परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक/सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी जम्मा ७७ हजार ९९२ जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्द्रहरुमा खटिनेछन् ।
परीक्षालाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा ७७ वटै जिल्ला परीक्षा समन्वय समितिहरुबाट परीक्षामा खटिने केन्द्राध्यक्ष लगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।
नियन्त्रक श्रेष्ठले सबै परीक्षार्थीलाई विना डरत्रास उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुन अपील गरेका छन् ।