अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुखले आफ्नै कार्यालयमा कर्मचारीको छड्के अनुगमन गरेका छन् । नगर प्रमुख बिरेन्द्र भट्टले कार्यालयमा कर्मचारी ढिलो आउने गरेको जनगुनासो आएपछि उनले बिहीवार बिहान अनुगमन गरेका हुन ।
बिहान १० बजे अगाबै कार्यालय पुगेका मेयर भट्टले १० बजे पछि मुल गेट बन्द गर्न लगाएका थिए । जसको कारण १० बजे पछि कार्यालय आएका कर्मचारी गेट बाहिर नै बस्न बाध्य भएका थिए ।
उनले कार्यालयमा बिहान १० बजेभन्दा ढिला आउने कर्मचारीहरुलाई प्रवेश रोक लगाउनुका साथै बेतलबी बिदा समेत दिने चेतावनी दिएका छन । नगरप्रमुख भट्टले प्रशासनिक काम कुरा गर्न गाह्रो भैरहेको अवस्थामा कार्यालय समयमा कर्मचारीहरु नपुग्दा समस्या हुन थालेपछि उक्त कार्य गरिएको बताए ।
कार्यालयमा समयमै कर्मचारीहरु नआउदा शाखागत कामकारबाहीहरुमा ढिलाई भैरहेको उनले बताए । उनले आगामी दिनहरुमा पनि यस्तै गतिविधि कर्मचारीहरुले दोहोर्याए त्यस्ता कर्मचारीहरुलाई अन्य कारबाहीको प्रकृयामा लैजाने बताए ।
कार्यालयमा प्रत्येक दिन ढिला आउने कर्मचारीहरुलाई नियममा बाध्न यस्तो गरिएको बताउदै उनले कार्यालयको प्रशासनिक कामकारबाहीमा भने कुनै समस्या नहुने जानकारी दिए ।