काठमाडौं : व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक होउन् भन्ने उद्देश्यले सरकारले आजदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि सात गतेसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन हुने जनाएको छ ।
विभागले सबै स्थानीय तहलाई परिपत्र गर्दै वैशाख पहिलो साता व्यक्तिगत घटना दर्ताका लागि जनचेतनामूलक कार्यक्रम गर्न अनुरोध गरेको छ ।
जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ । घटना भएको ३५ दिनभित्र दर्ता गराउँदा पैसा नलाग्ने विभागले जनाएको छ ।