धनगढी : कैलालीमा अबदेखी सुर्तिजन्य तथा मदिराजन्य पदार्थको प्रचार सामग्री राख्न नपाईने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको बैठकले जिल्लामा सुर्तिजन्य तथा मदिराजन्य पदार्थका प्रचार सामग्री राख्न नपाउने निर्णय गरेको हो ।
जिल्लामा राखिएका त्यस्ता सामग्रीहरु सात दिन भित्र हटाईसक्नुपर्ने समेत बैठकले निर्णय गरेको छ । प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्र महेन्द्रनगरको आयोजनामा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठले सरोकारवाला पक्षलाई सात दिनभित्र प्रचारप्रसार सामग्री सार्वजनिक ठाउँबाट आफैं हटाउन समय दिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशीले बताए ।
उनले समयभित्र त्यस्ता सामग्री नहटाइए अनुगमन गरिने र अनुगमनको क्रममा नियमानुसार प्रचलित कानूनअनुसार जरिवानासमेत गरिने निर्णय गरिएको बताए ।
‘यो मन्त्रालयको प्रदेश अन्र्तगतकै कार्यक्रम हो’ उनले भने ‘हामीले आफ्नो जिल्लाको व्यवस्थापन गर्ने र हेर्ने कार्य गर्छाै ।’ उनले सुर्तिजन्य र मदिराजन्य पदार्थहरु बेच्ने समयसिमा, स्थान लगायतका विषयमा छलफल हुनुका साथै बैठकमा बालबालिकाहरुलाई त्यस्ता सामग्री बेच्न नमिल्ने समेत निर्णय भएको बताए ।