शिक्षाका लागि राष्ट्रिय अभियान : सुदूरपश्चिमले शिक्षामा लगानी बढाउनुपर्ने माग

धनगढी : सुदूरपश्चिम प्रदेशले शिक्षामा लगानी बढाउनुपर्ने माग गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान सुदूरपश्चिम प्रदेशले शिक्षामा लगानी बढाउनुपर्ने मागसहितको ज्ञापनपत्र मुख्यमन्त्री कमल बहादुर शाहलाई बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै शिक्षा क्षेत्रको सुधारका लागि विशेष प्राथमिकताका साथ लगानी गर्ने मन्त्री शाहले बताए । उनले शिक्षा क्षेत्र महत्वपूर्ण भएकाले सो क्षेत्रमा सुधार गर्न आवश्यक अध्ययन गरिरहेको जनाएका छन् ।

ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्नुपर्ने, समतामूलक समाज निर्माण गर्नुपर्ने, भौतिक पूर्वाधार सुधार्नुपर्ने र प्राविधिक शिक्षामा जोड दिइएको छ ।

उक्त अभियानका संयोजक हेमराज जोशीले सरकारलाई शिक्षामा लगानी बढाउनुका साथै निःशुल्क शिक्षा प्राप्त गर्ने अवसरबाट कोही कसैलाई वञ्चित गर्न नहुनेमा जोड दिए ।

केही दिन अगाढी सुदुरपश्चिम प्रदेश समिती द्वारा सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयका सचिब मार्फत पनि प्रदेश सरकार लाई सुझाव पत्र पेश गरिएको थियो ।

शिक्षामा लगानी वृद्धि गर्नु पर्ने कारण तथा सुझावहरु :

अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्न
१. सार्वजनिक शिक्षामा कुल र्गाहस्थ उत्पादनको ४ देखी ६ प्रतिशत र कुल राष्ट्रिय बजेटको २० प्रतिशत लगानी गर्ने अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रतिबद्धता गरेतापनि विगत केही वर्षदेखि नेपालको शिक्षा क्षेत्रको सार्वजनिक लगानी घट्दो क्रममा छ र यस आर्थिक वर्षमा कुल बजेटको करिव ११ प्रतिशत रहेको छ । जुन शिक्षाको मौलिक हक कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न अपुग (Under Funded) रहेको छ । तसर्थ, सरकारले शिक्षा बजेट बढाओस् ।
२. सार्वजनिक शिक्षामा राज्यको लगानी बढाउँदै लैजाने राज्यको नीति तथा निर्देशक सिद्धान्त पनि हो र यस संवैधानिक दायित्व पूरा गर्नका लागि अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ जारी पनि भइसकेको अवस्थामा सोको कार्यान्वयनका लागि कुनै पनि शुल्क नलाग्ने व्यवस्थाका साथमा दिवा खाजा, छात्रवृत्ति, प्राथमिक उपचार र शैक्षिक सामग्रीको व्यवस्था गर्नुपर्छ, त्यसका निम्ति हालको विनियोजन अपर्याप्त भएकाले बजेटको वृद्धि गरियोस् ।
३. शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले दिएको सुझाव अनुसार ५५,००० शिक्षक दरबन्दीआवश्यकता रहेको ४ वर्ष अगाडि नै औल्याइएको अवस्थामा त्यसकालागि बजेट बढाइ शिक्षक परिपूर्ति गरियोस् ।
समतामूलक समाज निर्माण गर्न
४. विद्यालय आउन बाँकी र विद्यालय आएर कक्षा छाड्नेहरुमध्ये अधिकांश बालबालिकाहरु आर्थिक र सामाजिक रुपमा पिछडिएका वर्ग वा सीमान्तकृत समुदाय र अपांगता भएकाहरु हुन् । यस्ता समूहका बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाइराख्न तथा गुणस्तरीय सिकाइ सुनिश्चित गर्न हाल सञ्चालन गरिएका भन्दा थप विशिष्टिकृत प्रकृति जस्तै दिवा खाजा, उपचार व्यवस्था, स्वास्थ विमा, आवासीय सुविधा आदि जस्ता कार्यक्रमहरु कार्यान्वयन गर्नुपर्छ । यस्ता कार्यक्रमका लागि लगानी गर्नुपर्ने भएकाले अबको बजेट थपियोस् ।
५. बालबालिकाको विद्यालय भर्ना, टिकाऊ र सिकाइ उपलब्धि कुनै न कुनै रुपमा परिवारले बहन गर्नुपर्ने प्रत्यक्ष वा अप्रत्यक्ष खर्चमा पर्दछ । अप्रत्यक्ष खर्चको भार न्यून आय भएका परिवारलाई परेको देखिन्छ । जसले गर्दा ती समुदायका बालबालिकाले बीचैमा पढाइ छाड्नु परिरहेको छ । त्यसैले, अभिभावकका निम्ति आय(आर्जन तथा रोजगारी सँग जोडेर सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा सुनिश्चित गर्नका लागि पनि बजेट बढाइयोस् ।
भौतिक पूर्वाधार सुधार्न
६.अधिकांश सार्वजनिक विद्यालयको भौतिक अवस्था सुधार गरी अपाङ्गतामैत्री विद्यालय पूर्वाधार, छात्रामैत्री शौचालय, पुस्तकालय, खानेपानी लगायतको अनिवार्य व्यवस्थापन गर्नका लागि शिक्षामा बजेट वृद्धि गरियोस् ।
प्राविधिक शिक्षामा जोड दिन
७. प्रत्येक स्थानीय तहमा माध्यमिक तहमा हालसम्म करिव पाँच सय भन्दा माथि कुनै न कुनै प्रकारका प्राविधिक व्यावसायिक धारमा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने विद्यालय तथा शिक्षालयहरु सञ्चालनमा छन् । प्रत्येक स्थानीय तहमा न्यूनतम पनि एक एक वटा यस्ता विद्यालय तथा शिक्षालयको व्यवस्था गर्न पनि करिव २५० जति थप्नुपर्ने देखिन्छ । साथै, सञ्चालन भइरहेका प्राविधिक धारमा विद्यालयहरुका लागि प्रशिक्षक÷शिक्षक दरबन्दी छैन । यसले गर्दा प्राविधिक शिक्षाको पहुँच र गुणस्तरमा प्रश्न उठिरहेको छ । यसका निम्ति पनि हालको बजेटमा थप गरियोस् ।
सार्वजनिक विद्यालयलाई थप प्रतिस्पर्धी र क्षमतावान बनाउन
८.अभिभावकको अंग्रेजी भाषा र प्रविधितर्फको चाहनाकै कारण निजी विद्यालयहरुको अत्यधिक बिस्तार भएको छ । निजी विद्यालयको अव्यवस्थित बिस्तार र शिक्षामा निजीकरण रोक्नका लागि सार्वजनिक विद्यालयमा पठनपाठनमा सुधार गर्नुपर्छ, विपद्को बेलामा समेत प्रविधिको माध्यमबाट सिकाइ पहुँच बढाउन शिक्षामा थप लगानी गरियोस् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.