धनगढी : सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) भरतबहादुर बोहराले गुण्डागर्दी र चोरी, तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार धनगढीमा कैलाली उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा बोल्दै डीआईजी बोहराले लागुऔषध दुव्र्यशनी, चोरी तस्करी, गुण्डागर्दीको नियन्त्रण र फरार अभियुक्त पक्राउ गर्ने कामलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बोहराले शान्ति, सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका कैलाली र कञ्चनपुरको निरीक्षण गरिसकिएको बताउदै विशेष खालको सुरक्षा योजना बनाएर कार्यान्वयनमा लैजाने समेत बताए ।
उनले आफू सुदूरपश्चिमकै बासिन्दा भएका कारण प्रदेशबासीलाई शान्ति, सुुरक्षाको प्रत्याभूती हुनेगरी काम गर्ने पनि बताएका छन् । कार्य सम्पादनका क्रममा प्रहरीलाई सबै पक्षबाट सहयोग हुने विश्वास समेत उनको थियो ।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले डीआईजी बोहरालाई माला लगाएर स्वागत गरेका थिए भने व्यवसायीहरुले शान्ति, सुरक्षाको प्रत्याभूती हुनेगरी काम गर्न समेत आग्रह गरेका छन् ।