सेती अस्पतालमा कोरोना र डेंगु संक्रमित युवकको मृत्यु

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंगुबाट संक्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको भेन्टिलेटरमा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए ।

नशासम्बन्धी रोगको उपचार गराउन अस्पताल भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो । त्यसको दुई दिनपछि फेरि नमुना जाँच गराउँदा डेंगुको समेत संक्रमण देखिएपछि थप उपचारका लागि संक्रमित युवकलाई भेन्टिलेटरमा राखिएको उनले बताए ।

अस्पतालमै गत चैत २५ गते उनको नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ । यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेशमा गत चैतदेखि कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ ।

संक्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो । खासगरी सीमानाका हुँदै भारतबाट भित्रिने अधिकांशमा कोरोना संक्रमण देखिने गरेको छ ।

कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको संक्रमण अझै बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

कोरोना भाइरसको समस्या देखिएयता बीचमा झण्डै एक वर्षसम्म सुदूरपश्चिममा यो रोगका कारण हुने मृत्युदर शून्य थियो । संक्रमण बढ्न थालेपछि कोरोना भाइरसविरुद्धको बुस्टर डोज(खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत् लगाउन थालिएको छ । रासस

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.