सुदुरपश्चिममा छिट्टै प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री शाह

धनगढी : बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर बाहिरिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले छिट्टै प्रदेश सरकार विस्तार हुने बताएका छन् । २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार बिहान माओवादीका प्रदेशसभा सदस्यहरुसहित सरकार विस्तारबारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

‘आजबाट सुदूरपश्चिम प्रदेश सरकार विस्तारबारे छलफल सुरु भएको छ, छिट्टै टुंगिन्छ,’ मुख्यमन्त्री शाहले भने । गठबन्धनमा आवद्ध दलहरुको शिर्ष तहमा छलफल भएपछि पार्टीबाट आउने निर्देशनअनुसार अघि बढ्ने बताउदै शाहले आज वा भोलिमै सरकार विस्तार हुन्छ भनेर ठोकुवा गर्न नसक्ने प्रतिक्रिया समेत दिए ।

‘आज वा भोलि नै हुन्छ भनेर भन्न सकिने अवस्था भएन । किनकी शिर्ष तहमा हुने छलफल र सहमतीपछि पार्टीले दिने निर्देशन अनुसार नै अघि बढ्ने हो,’ उनले भने । प्रधानमन्त्रीलाई प्रदेश सरकार विस्तारबारे कुरा राखेको बताउदै शाहले गठबन्धनको कार्यदलमा शिर्ष नेताहरु छलफल गरेर टुंग्याउने भनेको पनि जनाए ।

‘प्रधानमन्त्री ज्यूले शिर्ष तहमा आज नै कुरा चलाउछौँ भन्नुभएको छ,’ उनले भने । मुख्यमन्त्री शाहले प्रधानमन्त्रीलाई अगामी वर्षको बजेटको तयारी पनि गर्नुपर्ने भएकाले सरकार मन्त्रिपरिषद् विस्तारका लागि वातावरण बनाइदिन समेत आग्रह गरेका छन् ।

बैठकमा माओवादीले दाबी गरिरहेको आर्थिक मामिला वा भौतिक पूर्वाधार विकास मन्त्रालय दिन नसक्ने कुरा पनि मुख्यमन्त्रीले राखेका थिए । माओवादीका सांसदहरुले महत्वपूर्ण मन्त्रालय नपाउने अवस्थामा तीन वटा दिनुपर्ने कुरा राखेका थिए । मुख्यमन्त्री शाहले भागबण्डाका सम्बन्धमा भने कुराकानी नभएको प्रतिक्रिया दिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.