दार्चुला : दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन् । सोमबार साँझ साढे ६ बजेतिर खेतमा काम गरिरहेका बेला उनीहरुलाई चट्याङ लागेको थियो ।
चिउरी रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।
मीना र कुमारको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र दुवै जनाको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
