अत्तरिया : कैलालीको स्याउलेमा अबरुद्ध सडक सुचारु गरिएको छ । गोदावरी नगरपालीका ८ स्याउलेमा धुलो धुवा नियन्त्रणको माग गर्दै अबरुद्ध गरिएको सडक शुचारु गरिएको हो ।
धनगढी–दिपायल फास्ट ट्रयाक अन्तगर्तको सडक शुक्रबार बिहानदेखी स्थानियले धुलो धुवा नियन्त्रणको माग गर्दै अवरुद्ध गरेका थिए । सडक निर्माणको जिम्मा लिएको खडका कृष्ण जेबि निर्माण कम्पनीसंग दैनिक दुईपटक सडकमा पानी हाल्ने सहमति भएपछि आजबाट सडक सुचारु गरिएको स्याउले बजार व्यवस्थापन समितीका अध्यक्ष गोपाल देउवाले बताए ।
उनले आजबाट दैनिक बिहान ८ बजे र दिउँसो १ बजे सडकमा पानी हाल्ने सहमति भएको बताए । धुलाम्मे सडकले नागरिकको स्वास्थ्य अवस्था निकै जोखिममा पार्नुका साथै स्याउले बजारको व्यवसाय नै धरापमा परेको अध्यक्ष देउवाले बताए ।
सडक निर्माण कम्पनीले व्यवास्था गरि धुलोधुवाँ भएपछि स्थानीयले तत्काल पिच नभएपनि सडकमा पानी हालेर धुलो उडन नदिन माग गर्दै सडक अवरुद्ध पारेका थिए ।
गाउघरमा सडकको अवस्था लामो समयदेखि अलपत्र हुँदा धुलाम्मे भईरहेको छ भने सडकको आसपासका नागरिकको धुलोधुवाँले स्वास्थ्य अवस्था पनि निकै जोखिममा परेको छ ।
