काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो ।
नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरुले नेविसंघको झण्डासहित प्रतिकात्मक रुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक समेत प्रदर्शन गरेका छन् ।
नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले कांग्रेस केन्द्रीय सदस्य खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।
यही प्रकरणमा नेकपा एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर रायमाझी फरार छन् । टोपबहादुरका छोरा सन्दीपसहित गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत भने हिरासतमै छन् ।