एक महिनामा चट्याङ लागेर ५ जनाको ज्यान गयो, ४३ जना घाइते

काठमाण्डाै : पछिल्लो एक महिनामा चट्याङ लागेर ५ जनाको ज्यान गएको छ । ४३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि हिजोसम्ममा चट्याङका ४४ वटा घटना भएका छन् । यसमा परेर पाँच जनाको ज्यान गएको हो भने ४३ जना घाइते भएका छन् ।

चट्याङ लागेर घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ । गएराति चट्याङ लागेर दैलेखमा एकै घरका चार जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विकलाई सुतिरहेकै बेला चट्याङ लागेको हो । उनीहरुको उपचार भइरहेको छ ।

हिजो पहाडी क्षेत्रका धेरैजसो ठाउँमा हावाहुरी र मेघगर्जनसहित चट्याङ परेको थियो । आज पनि पहाडी जिल्लामा दिउँसो पछि हुरीबतास र मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार विशेषगरी आज बाग्मती, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङ पर्ने सम्भावना छ । चट्याङ नपरे पनि तराईका जिल्लामा हावाहुरीको जोखिम भने रहेको उहाँले बताउनुभयो ।

मौसमविद्का अनुसार प्रि-मनसुनमा चट्याङ धेरै पर्छ । प्रि–मनसुनमा दिउँसो पछि मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ । चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । अझै तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।

चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न विज्ञको सुझाव छ । यस्तै, विज्ञका अनुसार चट्याङ पर्दा टेलिभिजन लगायतका सबै विद्युतीय उपकरणलाई बन्द गरेर तार निकाल्नु पर्छ ।यस्तै, यस्तो बेला मोबाइल नचलाउन, चार्ज नगर्न तथा पानीबाट पनि टाढा बस्न विज्ञको सुझाव छ । उनीहरुका अनुसार पानीले पनि विद्युत् प्रवाह गर्ने भएकाले चट्याङ पर्दा चलाउनु हुँदैन ।

यसैबीच, चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा सङ्कलकको उद्धार हुन सकेको छैन । उनीहरू तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन् । तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन । खराब मौसमका कारण दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चट्याङ लागेर भएकाको उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

घाइतेको उद्धारका लागि सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गामै थन्किएको छ । चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, त्यहीँ गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उहाँकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन् ।

चुरे गाउँपालिका दादुरा रोग सम्बन्धी सूचना
Leave A Reply

Your email address will not be published.