डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएका लक्ष्मण सिँहको पदभार ग्रहण गरेको केही घण्टामै पद गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २६ गते सिंहलाई तीन वर्षका लागि अध्यक्ष नियुक्त गरेको पत्र दिएको थियो ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयले सिंहको ठाउँमा पुरानै अध्यक्ष ओझालाई मनोनीत गरेको छ । यसअघि प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रीस्तरको वैशाख १७ गतेको निर्णयअनुसार वैशाख २३ गतेदेखि लागू हुने गरी सिंहलाई अध्यक्ष नियुक्त गरिएको थियो । अध्यक्षमा नियुक्त गरिएका सिँहलाई अस्पतालका कर्मचारी तथा जिल्लावासीले बुधबार भव्य स्वागत समेत गरेका थिए ।
डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन् । विकास समितिका अध्यक्ष ओझाको हालै तीन वर्षे पदावधि सकिएको थियो ।
सिंहलाई डडेल्धुरा अस्पताल डडेल्धुराको अध्यक्ष र तेज साउँदलाई सदस्यमा मनोनीत गरिएको थियो। बुधबार साँझ नै स्वास्थ्य मन्त्रालयबाट उनको पद बदर गरिएको भन्दै अर्को पत्र अस्पताल पुगेको छ ।
बुधबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयले अध्यक्षमा उनीसहित सदस्यमा देवकी भट्ट र जनक मल्ललाई मनोनीत गरेको भनेर पत्र आएको अस्पतालका निमित्त मेसु चेतराज भट्टले जानकारी दिए ।
उनका अनुसार एक साता अगाडि मात्रै अस्पतालको अध्यक्षमा नियुक्त भएका लक्ष्मणबहादुर सिंहको मनोनयन बदर गरिएको पत्र पनि अस्पताललाई प्राप्त भइसकेको छ । सिंह नेकपा माओवादीमा केन्द्रमा आवद्ध छन् भने ओझा केही समयअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।