अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा बुधबार देखी वडा भेलाहरु शुरु भएका छन् । वडाहरुले आर्थिक बर्ष २०८०/०८१ को योजना तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।
बुधबार वडा नम्बर १ ले आर्थिक बर्ष २०८०/८१ को योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडा कार्यालयमा आयोजित ७औं वडा भेलामा वडा अध्यक्ष गोपाल दत्त भट्टले वडाका योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।
नगरले पठाएको सिलिङ अनुसार नै वडाको बजेट सार्बजनिक गरिएको वडा अध्यक्ष भट्टले बताए । जस अनुसार समानिकरण बजेट ८० लाख र सुत्रमा आधारीत बजेट ३० लाख ३९ हजार ४८३ गरी जम्मा १ करोड १० लाख ३९ हजार ४८३ रुपैयाँ बराबरको बजेट सार्बजनिक गरिएको छ ।
वडा अध्यक्ष भट्टको अध्यक्षतामा भएको सातै वडा सभाका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट रहेका थिए । वडा सभामा उपप्रमुख सारदा रोकाय, प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्री, वडा नम्बर ४, ११ र १२ का वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजसेवी, विभिन्न संघसस्थाका प्रतिनिधि स्थानीय लगायतको सहभागिता रहेको थियो । वडा सदस्य गम्भिर साउँदले स्वागत मन्तव्य राखेको वडा भेलाको संचालन वडा सचिव कुन्ता भण्डारीले गरेकी थिइन ।