काठमाण्डाै : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुङ्गाे लाग्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुङ्गो लाग्ने बताएका हुन् ।
उनले अघिल्लो प्रतिनिधि सभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभएर ‘होल्ड’ भएर बसेको र खारेजसमेत नभएको अवस्था रहेको भन्दै उनले त्यही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउने विषयमा पनि छलफल भइरहेको बताए ।
उनले भने, ‘नागरिकता विधेयकबारे विभिन्न सम्भावना देख्छु । त्यहाँ उपस्थित भएको सुझावको आधारको एउटा बाटो । अर्को बाटो फेरि यही सदनबाट नै, अहिलेको यो नयाँ सदनबाट त्यसको विषयमा एउटा या त संकल्प प्रस्तावमार्फत । या अरू कुनै प्रस्तावमार्फत राष्ट्रपतिलाई त्यो विधेयकको बारेमा प्रमाणीकरण गर्न अनुरोध गर्ने बाटो एउटा हुन सक्छ । या अर्को मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर राष्ट्रपतिसँग अनुरोध गर्ने पनि एउटा बाटो हुन सक्छ । त्यो विधेयकलाई खारेज गरेर फेरि अर्को विधेयक ल्याउनेबारेमा पनि मतहरू छन् । प्रधानमन्त्रीको हैसियतले मेरो के कोसिस छ भने एक महिनाभित्रै यसको टुङ्गो लाग्छ ।’
प्रधानमन्त्रीले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनुपर्ने मतसमेत रहेको भन्दै विभिन्न सम्भावनाहरूमा छलफल भइरहेको पनि बताए ।