अत्तरिया : सनराइज बैंकले कैलाली र डडेल्धुराका दुई ठाउमा प्रहरी बिट निर्माण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु अन्तर्गत भिमदत्त पन्त राजमार्गमा पर्ने चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा प्रहरी बिट निर्माण गरेको हो ।
सो क्षेत्रमा सर्वसाधारण र उक्त राजमार्गमा सञ्चालन हुने सावरीसाधनको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसँग समन्वय गरी प्रहरी बिट निर्माण गरिएको बताईएको छ । यहि जेठ ३ र ४ गते छुट्टा–छट्टै कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरेका हुन् ।
चुरे गाउँपालिकामा निर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी, इलाका प्रहरी कार्यालय फल्टुडेका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म सिंह बिष्ट र चुरे गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष खगेन्द्र खडायतको उपस्थिति रहेको थियो ।
त्यस्तै डडेल्धुराको कार्यक्रममा अमरगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष टंकबहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टको उपस्थितिमा प्रहरी बिट हस्तान्तरण गरिएको छ ।
प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बैंकले गरेको उक्त सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई सुरक्षा र सहजता हुने विश्वास लिइएको बताए ।