बैतडी : बैतडीमा रुखबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नम्बर–३ कुजागाडकी ३७ वर्षिया बिमला भाटको मृत्यु भएको हो ।
पारिवारिक स्रोतका अनुसार गत बैशाख २३ गते आफनै खरबारीमा स्याउला काट्न गएकी बिमला रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् । घाइते बिमलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको थियो ।
गम्भीर घाइते बिमलाको उपचार सम्भव नभएको भन्दै डाक्टरहरुले अस्पतालबाट डिस्चार्ज गरेपछि घर ल्याउने क्रममा बिहिवार राति मृत्यु भएको बिमलाका देवर जय सिंह भाटले जानकारी दिए । मृतकका दुई छोरा र दुई छोरी रहेका बताइएको छ ।