धनगढी : प्रदेश सरकारलाई अधिकार दिन माग गर्दै राजधानी आएको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले राजनीतिक भेटघाटलाई तिब्रता दिएको छ ।
सो टोलीले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग भेट गरी ज्ञापन पत्र बुझाएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वको टोलीमा प्रदेशका सभामुख, मन्त्रीहरु र प्रतिपक्षी दलका नेता सामेल छन् ।
भेटवार्ताका क्रममा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडि बढाउन आग्रह गरे । यस्तै समग्र सुदूरपश्चिमको विकासका सवालमा उनले ध्यानाकर्षण गराए । मुख्यमन्त्री नेतृत्वको टोलीले यसअघि प्रधानमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतसँग भेट गरी प्रदेशका विकास योजनाबारे ध्यानाकर्षण गराएको छ ।
त्यस्तै मुख्यमन्त्री शाह नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर निश्चित केही वर्ष वा केही सूचक निर्धारण गरेर त्यसअनुसार स्रोतमाथि सुदूरको विशेषाधिकार प्रदान गर्न माग गरेको छ । हाल सञ्चालनमा रहेका तथा तर्जुमा भएका ठूला र गौरवका आयोजनामा बजेट सुनश्चित गर्न माग गरेको हो ।
भेटका क्रममा कैलालीको गेटामा रहेको मेडिकल कलेजमा मेडिकल विश्वविद्यालय सञ्चालनका विषयमा पनि छलफल भएको जनाइएको छ । मुख्यमन्त्री शाह नेतृत्वको टोलीले मंगलबार अर्थमन्त्री प्रकाशशरण महतलाई पनि भेटेको थियो ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले स्रोतमाथि विशेषाधिकार प्रदान गर्ने सन्दर्भमा प्रदेश सभाबाट जेठ ६ गते भएको निर्णयबारे पनि जानकारी दिन र बजेट तथा स्रोतको सुनिश्चित गर्न मुख्यमन्त्री सहितको टोली काठमाडौं आएको जानकारी दिए ।