अत्तरिया : धनगढीमा आयोजित कैलाली प्रिमियर लिग टि–२० अन्तरपालिका स्तरिय क्रिकेट प्रतियोगीताको उपाधी गोदावरी नगरपालिकाले हात पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाईनल खेलमा टीकापुरलाई पाँच विकेटले पराजीत गर्दै गोदावरीले उपाधी जितेको हो ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा जेठ ७ गतेदेखि धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थित नगर खेलमैदानमा प्रतियोगीता सञ्चालनमा रहेको थियो । शनिबार भएको फाईनल खेलमा टस जितेर ब्याटिङ रोजेको टिकापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ८६ रन बनाएको थियो ।
ब्याटिङतर्फबाट टिकापुर यादव साउँदले २१ रन र रक्षित बमले १३ रन बनाएका थिए । बलिङतर्फ गोदावरी नगरपालिकाका लागि सुशील साउँद र सन्तोष कार्किले समान ३/३ विकेट लिए भने फिर्दोष अन्सारीले दुई विकेट लिए ।
८७ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको गोदावरीले १५.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य भेट्टायो । टिमलाई जिताउन गोदावरीका फिर्दोष अन्सारीले अविविजत २३ रन बनाउदा सैलेश कठायतले २० रन बनाएका थिए भने दिपेश कडेँलले १७ रन बनाएका थिए । बलिङतर्फ टिकापुरका पारस तिमिल्सिनाले २ विकेट लिए ।
उक्त खेलमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्न सफल गोदावरीका फिर्दोष अन्सारी मालिकार्जुन हार्डवेयर म्यान अफ दी म्याच घोषित हुँदै नगद एक हजार साथै ट्रफी हात पार्न सफल भए ।
विजेता गोदावरीले एक लाख एकाउन्न हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता टिकापुरले नगद पचहत्तर हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै उत्कृष्ट ब्याट्सम्यानमा दोधारा–चाँदनी नगरपालिकाका साजन विटालु र उत्कृष्ट बलर टिकापुरका सोलुप चौधरी घोषित भए । उनिहरुले नगद पाँच हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै उत्कृष्ट खेलाडी घोषित हुदै टिकापुरका डिकेन्द्र शाहले नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । फेयर प्ले अवार्ड पुनर्वास नगरपालिकालाई दिईएको थियो ।
यसैबिच उपाधी जितेर फर्किएको टोलीलाई नगरप्रमुख विरेन्द्र भट्टले सम्मानित गरेका छन । उनले खेलाडी तथा अफिसियलहरुलाई अबिर र खादाले सम्मानित गरेका हुन । नगरप्रमुख भट्टले जिल्लाहरुकै पालिकाहरुमध्येबाट विजयी भएर आएकोमा खुुसी व्यक्त गरे ।