काठमाण्डाै : वर्षाको कारण हिजो रोकिएको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ ।
फाइनलमा बेलुका पौने ८ बजे गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो ।
चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशाैँ पल्ट हो ।
गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेका थिए । तर पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुग्यो । गुजरातले शुक्रवार भएको दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो ।
यस सिजनको आईपीएल विजेता टोलीले २० करोड भारु नगद पुरस्कार पाउने छ। त्यस्तै उपविजेता टोलीले १३ करोड भारु दिइनेछ। त्यसैगरी तेस्रो र चौथो हुने टोलीले पनि ७–७ करोड रुपैयाँ पाउनेछन् ।
त्यस्तै आईपीएल २०२३ मा ओरेन्ज क्याप अर्थात सबैभन्दा बढी रन बनाउने खेलाडी र पर्पल क्याप जित्ने अर्थात् सबैभन्दा बढी विकेट लिने खेलाडीले १५/१५ लाख पाउनेछन् ।
त्यस्तै यस सिजनमा उदीयमान खेलाडी बन्ने खेलाडीलाई २० लाख भारु दिइनेछ भने सुपर स्ट्राइकरले पनि १५ लाख पाउनेछन् ।
आईपीएल २०२३ मा सबैभन्दा मूल्यवान खेलाडी बन्ने खेलाडीलाई पनि १२ लाख रुपैयाँ पुरस्कार दिइनेछ । साथै पावर प्लेयर, गेम चेन्जर र धेरै छक्का प्रहार गर्ने खेलाडीले १२/१२ लाख भारु पुरस्कार पाउने छन् । आइपिएलमा हरेक खेलमा म्यान अफ द म्याच खेलाडीले एक लाख पुरस्कार दिइएको छ ।