काठमाडौं : मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाली महिला क्रिकेट टिम विजयी भएको छ ।मंगलबार भएको खेलमा नेपालले घरेलु टिमलाई ७ विकेटले हरायो ।
मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १७.३ ओभरमा पार गर्यो। नेपालका लागि ओपनरद्वय कविता कुँवरले २६ रन र सीता राना मगरले २३ रन जोडे। विन्दू रावल १७ रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्रीले नटआउट २९ रन जोडिन् ।
रुबिनाले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । त्यसअघि मलेसियाले टस जितेर ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ९७ रन जोड्यो । उसका लागि एनि दुराइसिंघम र वान जुलियाले २०-२० रन जोडे। मास एलियाले २८ रन जोडिन् ।
बलिङमा नेपालकी रुबिनाले २ विकेट लिँदा कविता कुँवर र इन्दू बर्माले १-१ विकेट लिए । नेपालको जितसँगै पाँच खेलको सिरिजमा १-१ को बराबरी भएको छ ।
यसअघि सोमबार भएको पहिलो खेलमा घरेलु टिमले नेपाललाई ५ विकेटले हराएको थियो । सिरिजको तेस्रो खेल बिहीबार हुनेछ ।
