गेटा मेडिकल कलेजलाई अब शहीद दशरथ चन्द प्रतिष्ठानको रूपमा विकास गरिने
१०० शय्याको अस्पताल यही वर्षदेखि सञ्चालनमा ल्याइने
अत्तरिया : कैलालीको गेटास्थित गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरिने भएको छ ।सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०० शय्याको अस्पताल यही वर्षदेखि सञ्चालनमा ल्याइने बताइएको छ । यसअघि धनगढी आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने घोषणा गरेका थिए ।
अर्थमन्त्री डा.महतले प्रतिष्ठानको रूपमा विकास गर्ने भन्दै आगामी आर्थिक वर्षमा उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट सार्वजनिक गरेका छन् । गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नभए शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा अघि बढाइने भएको हो ।
सञ्चालनको प्रारुप टुंगो लागेपछि अब छिट्टै सञ्चालन हुने बाटो खुलेको हो। कलेज निर्माणमा हालसम्म पाँच अर्ब ४५ करोड खर्च भइसकेको छ ।सुदूरपश्चिम प्रदेशमा २०५६ मा मेडिकल कलेज सञ्चालन गर्ने पहल सुरु भएको थियो । तर अहिलेसम्म सञ्चालन भने हुन सकेको छैन् । विसं २०५६ मा यसै ठाउँमा स्वास्थ्य आयुर्विज्ञान प्रतिष्ठान बनाउने पहल गरिएको थियो ।
कलेज निर्माणकालागि जगतगुरु शङ्कराचार्यबाट गेटामा भवनसमेत शिलान्यास भएको थियो । विविध कारणले थप काम अघि बढ्न सकेन ।त्यसपछि सरकारले यसै ठाउँमा विसं २०६८ मा मेडिकल कलेज बनाउने निर्णय गरेको हो । झन्झटिलो र लामो प्रक्रियाका कारण कलेजका संरचना निर्माणको काम ढिलो सुरु भएको थियो ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यो कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारुपमा सञ्चालन गर्ने भनेर जनाएका थिए । अहिलेका प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने भनेका थिए ।
