अत्तरिया : भोलि बिहान गेटामा गेटा विश्वविद्यालय बारे सडक बहस गरिने भएको छ । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले भोलि २० गते सडक बहस गर्ने भएको हो ।
सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपनि बजेटमा त्यसलाई कार्यान्वय नगरिएपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तरगत सडक बहस गर्न लागेको हो ।
सडक बहसमा गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजारा लगायत चिकित्सक र सरोकारवाला निकायको सहभागिता रहने संघर्ष समितिका सह-संयोजक आनन्द भट्टले बताएका छन । उनले (शनिबार) बिहान ८ बजेदेखि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेट अगाडी सडकमा बहस कार्यक्रम संचालन गरिने बताए ।
त्यस्तै आइतबार जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी बिहान साढे १० देखि ११ बजे सम्म धर्ना दिने कार्यक्रम रहेको बताईएको छ ।
संघर्ष समितिले आज (शुक्रबार) आन्दोलनका कार्यक्रम अन्तरगत सुदूरपश्चिमका मुख्यमन्त्री र जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।