धनगढी उपमहानगरपालिकाले १२२ ज्येष्ठ नागरिकलाई पठायो धार्मिक भ्रमणमा मुक्तिनाथ 

धनगढी : धनगढी उपमहानगरपालिकाले एक सय बढि ज्येष्ठ नागरिकलाई तिर्थ यात्राका लागि मुक्तिनाथ धाम पठाएको छ । वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगर क्षेत्रका १९ वटै वडाबाट १ सय २२ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ धाम धार्मिक तिर्थ भ्रमणमा पठाइएको हो ।

उनीहरुलाई नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानासहित वडाध्यक्षहरुले संयुक्त रुपमा तिर्थ यात्रा भ्रमणको सफलताको कामना गर्दै आज दिउँसो धनगढीबाट खादा र टीकासहित बिदाई गरेका छन् । नगर प्रमुख हमालले ज्येष्ठ नागरिकको सम्मानका लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार उनीहरुलाई तिर्थ भ्रमणमा मुक्तिनाथ पठाइएको जानकारी दिनुभयो ।

नगर प्रमुख हमालका अनुसार प्रत्येक वडाबाट कम्तीमा पाँच जनाका दरले छनोट गरिएको छ भने समाजमा विशिष्टकृत योगदान गरेका तर ज्येष्ठ नागरिकको परिभाषाभित्र पर्ने व्यक्तिहरुलाई पनि भ्रमणमा समेटिएको छ । उपमहानगरपालिकामा सेवारत रहेर चालु आर्थिक वर्षभित्र अवकास प्राप्त गर्ने कर्मचारीहरु पनि भ्रमणमा गएका छन् ।

भ्रमणको व्यवस्थापनको काम लक्ष्मीनारायण मन्दिरले गर्नेछ भने सहजीकरणका लागि स्वास्थ्य शाखा र सामाजिक विकास शाखाका कर्मचारीलाई पठाइएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको धार्मिक भ्रमणलाई निरन्तरता दिइने जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.