बझाङ : बझाङको जयपृथ्वी नगरपालिका भित्रका स्वास्थ्यकर्मीले विगत पाँच महिनादेखि तलब पाएका छैनन् । नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले पाँच महिनादेखि तलब नपाएका हुन् ।
स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी र शहरी स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन् ।
सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका संयोजक नयनबहादुर सिंहले बताए ।
स्वास्थ्यकर्मीले गत माघ महिनादेखि नेपाल सरकारका करिब ४० जना कर्मचारी एवं स्वास्थ्यकर्मीले तलब नपाउँदा पनि स्वास्थ्य सेवामा कुनै गुनासो आउन नदिनेगरी काम गरिरहेको उनले बताए ।
नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीले भने नियमित तलब पाइरहेका छन् ।
