धनगढी : कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रतिनिधि सभाका सदस्यहरुलाई एसएमएस पठाउन थालिएको छ । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा विजयी सांसदहरुलाई दबाब दिन एसएमएस पठाउन थालिएको हो । संघीय सरकारको बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाउने उल्लेख गरिएसँगै सुदूरपश्चिमका नागरिक आन्दोलनमा छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई एसएमएस पठाउन थालिएको हो । उनीहरूले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि भूमिका खोजेको, यो विषयमा प्रतिनिधि सभा सदस्यले बोल्नुपर्ने लगायतका विषय उल्लेख गर्दै एसएमएस पठाउने गरेका छन् ।
सरकारले बजेट भाषण मार्फत गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शय्याको मात्रै अस्पताल सञ्चालन गर्ने घोषणा गरेको छ । जबकि नीति तथा कार्यक्रममा गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भनिएको थियो। त्यसअघि २९ माघ २०७९ मा बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, बजेट भाषणमार्फत प्रतिष्ठान बनाउने घोषणा गरिएपछि कैलालीमा आन्दोलन जारी छ । आन्दोलनका कार्यक्रम अनुसार सुदूरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूलाई एसएमएस पटाउँदै दबाब दिन थालेका हुन् ।
उनीहरूले ‘माननीय ज्यू नमस्कार, गेटा विश्वविद्यालय सुदूरपश्चिमको लाइफ लाइन हो । हामी सुदूरपश्चिम बासी तपाईको भूमिकाको खोजी गर्दैछौ ।’, ‘माननीय ज्यू नमस्कार, हामी गेटा विश्वविद्यालय प्रति तपाईको धारणा खोज्दै छौ । तपाई बोलेको, लेखेको र भूमिका निभाएको हेर्न मन छ।’ लगायत विषय लेखेर एसएमएस पठाउन थालेका हुन् ।
उनीहरूले शेरबहादुर देउवा, आरजू राणा देउवा, रमेश लेखक, भानुभक्त जैशी, बद्री पाण्डे, प्रेम आले, शेरबहादुर कुँवर, एनपी साउँद, वीरबहादुर बलायर लगायतका सांसदहरूलाई एसएमएस पठाएका छन् । आन्दोलनकारीहरुले बिहिवार साँझ मात्र गेटामा विश्व विद्यालय लेखिएको बोर्ड राखेका थिए ।