अत्तरिया : सुदूरपश्चिम प्रदेशमा आइतवार आमहड्तालको घोषणा गरिएको छ । कैलालीस्थित गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै २८ गते आइतवार सुदूरपश्चिम प्रदेशभरी आम हड्तालको घोषणा गरिएको हो ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज (शुक्रवार) धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ बिरोधका कार्यक्रम सार्वजनिक गर्दै सुदूरपश्चिम बन्दको घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघसंस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए । उनले आज (शुक्रवार) सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकहरुसँग छलफल गरेको समेत बताएका छन् ।
आम हड्तालको कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका यातायात व्यवसायी, उद्योगी, व्यापारी, वुद्धिजिवी, नागरिक समाज, सम्पूर्ण राजनीतिक दलहरु र आम जनसमुदायको समेत ऐक्ववद्धता तथा समर्थन रहेको उनले बताए । आम हड्ताल गर्दा पनि माग सुनुवाई नभए थप संघर्षका कार्यक्रम घोषणा गरिने पत्रकार सम्मेलनमा बताईएको छ ।
नेपाल सरकारले यही २०८० साल जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमा कैलाली जिल्लाको गेटामा स्थापना गर्ने भनिएको १०० शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति विरोध जनाउदै आन्दोलनका कार्यक्रम गर्दै प्रदर्शन जारी छ ।
संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय श्ययामा सञ्चालन गर्न माग गरिएको छ ।
गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालको माग गर्दै संघर्ष समितिको नेतृत्वमा विगत १० दिनदेखि आन्दोलन भइरहेको छ । संघर्ष समितिले बिहीवार गोदावरी नगर क्षेत्र बन्दको घोषणा गरेको थियो भने अत्तरिया बजार बन्द गरेको थियो ।
बिहिवार साँझ नाराबाजीसहित गेटाको मूल गेटमा ‘सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लेखिएको ब्यानर पनि लगाईएको छ ।
