धनगढी : गेटा मेडिकल कलेजलाई शहीद दशरथचद राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयन गर्न माग गर्दै भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउदै राप्रपाले सुदूरपश्चिम प्रदेशसभा बैठक बहिष्कार गरेको छ ।
राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवी विष्टले जनस्तरबाट आइतबार घोषणा गरिएको आमहड्तालप्रती ऐक्यबद्धता जनाउदै प्रदेशसभा बैठक बहिष्कार गरेकी हुन् ।
सरकारले गेटामा शहीद दशरथचद राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपनि बजेटमा भने प्रतिष्ठानका रुपमा अघि बढाउने घोषणा गरिएको कारण प्रदेशबासी आन्दोलित भएका बेला राप्रपा बैठकमा सहभागी हुन नसक्ने भन्दै उनी प्रदेशसभाबाट बाहिरिएकी छन् ।
‘अहिले मेडिकल विश्वविद्यालय सञ्चालनका लागि प्रदेशबासी आन्दोलित छन् । आज बन्दको घोषणा पनि गरिएको छ । यस्तो समयमा प्रदेशसभा बैठक सञ्चालन हुनु उचित होइन, विष्टले भनिन्, तसर्थ यो बैठक स्थगित गरिनुपर्छ । आजको बैठक मैले बहिष्कार गरेकी छु ।’
