अत्तरिया : कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै गरिएको सुदुरपश्चिम प्रदेश बन्द खुलेको छ । गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज बिहान ८ बजेदेखि सुदुरपश्चिम पुर्णरुपले ठप्प पारेको थियो ।
आज एक दिन गरिएको प्रदेश बन्दमा लामो दुरीका सवारीसाधनहरु बिहानैबाट बन्द रहेका थिए भने छोटो दुरीका मोटरसाइकल,अटोरिक्सा लगायतका सवारीसाधनहरु पनि बन्दकर्ताले बन्द गराएका थिए । बन्दले गर्दा जनजिवन प्रभावित बनेको थियो । बन्द खुलेपछि सवारीसाधनहरु सञ्चालनमा आएका छन् ।
प्रदेश भरका सम्पूर्ण कार्यालयहरु, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय, निजी तथा सरकारी विद्यालयहरु लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु पुर्णरुपमा बन्द रहेका थिए । बिहान ८ बजेदेखि गरिएको बन्द साँझ ६ बजे सम्म भनेको थियो तर साढे ५ बजे खुलेको छ । गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय भवनको अगाडि अहिले कोणसभा गरिदैछ ।
२०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय र २०८० जेठ ५ गतेका दिन संघीय ससदमा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भन्ने कुरा उल्लेख भएपनि जेठ १५ गते संसदमा पेश गरिएको बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएपछि संघर्ष समितिले आन्दोनका कार्यक्रम गर्दै आइरहेको छ ।
संघर्ष समितिले बजेटमा १ सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने कुराको पनि विरोध गर्दै गेटामा भवनको क्षमता अनुसार ६ सय शैय्याको अस्पताल संचालन गरिनुपर्ने माग गर्दै आइरहेको छ ।
आम हड्तालको कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका यातायात व्यवसायी, उद्योगी, व्यापारी, वुद्धिजिवी, नागरिक समाज, सम्पूर्ण राजनीतिक दलहरु र आम जनसमुदायको समेत ऐक्ववद्धता तथा समर्थन रहेको थियो ।