अत्तरिया : गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज अत्तरियामा प्रदर्शन गरिने भएको छ । शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले अत्तरियामा प्रदर्शन गर्ने भएको हो ।
विश्वविद्यालय सञ्चालन विरुद्ध अभिव्यक्ति नदिन खबरदारी गर्दै अत्तरिया चोकबाट बेलुकी ५ बजे जुलुस निकालेर बसपार्कमा विरोध सभा गरिने संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले बताए । संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो), सह–संयोजक आनन्दराज भट्ट र सचिव धर्मसिंह कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वविद्यालय विरुद्ध अभिव्यक्ति नदिन चेतावनी दिइएको छ ।
सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट निर्णय गरेर नीति कार्यक्रममा पनि गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन गर्ने उल्लेख गरिएपनि बजेटमा प्रतिष्ठान बनाएर १ सय वेडको मात्रै अस्पताल चलाउने बताएपछि सुरु भएको आन्दोलन २ साता देखि जारी रहेको छ ।
बजेटमा त्रुटी भएको भन्दै गेटामा विश्वविद्यालय नै बनाउने प्रधानमन्त्री, अर्थमन्त्रीले प्रतिवद्धता जनाएपनि बजेटमा भएको त्रुटी सच्याउन हाल सम्म पनि कुनै पहल नभएको भन्दै आन्दोलनका कार्यक्रम जारी रहेका छन ।
संघर्ष समितिले स्वास्थ्य विश्वविद्यालयको स्थापना गर्न प्रतिनिधि सभाको चालु अधिवेशनबाट विश्वविद्यालय विधेयक पास गरिनुपर्ने, प्रदेश सभाबाट विश्वविद्यालय स्थापनाको सङ्कल्प प्रस्ताव पारित गरिनुपर्ने र आगामी आर्थिक वर्षभित्र गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग राख्दै आन्दोलनका कार्यक्रम जारी राखेको छ ।
संघर्ष समितिले शुक्रबार पनि प्रदेश सभा अगाडि शङ्ख र सिटी बजाएर विरोध प्रदर्शन गरेको थियो ।