अत्तरिया : कैलालीको ओलानीमा चाक्लेखोला पुल निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको चाक्लेखोला पुलको बिहीबार उद्घाटन गरिएको छ । गोदावरी नगरपालिका–१० मा निर्माण सम्पन्न भएको पुलको सुदुरपश्चिम प्रदेश सरकारका भौतिक योजना मन्त्री दीर्घ बहादुर सोडारीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
पुलको उद्घाटन गर्दैै मन्त्री सोडारीले तत्कालिन गोदावरी गाविस र मालाखेती गाविसको टुटेको कडिलाई जोड्ने काम पुलले गरेको बताए । उनले सरकारले निर्माण गरेको पुल जनतालाई हस्तान्तरण गरेकाले अब यसको सुरक्षा स्थानीय जनताले गर्नुपर्ने बताए । उनले अब प्रदेश सरकारले यस पुल भएर अत्तरिया फल्डुडे जोड्ने सडकको काम पनि अगाडी बढाएको र यस बर्ष मात्रै साढे १० करोड बजेट विनियोजन गरेको बताएका छन् । उनले चालु आर्थीक बर्षमा पनि धेरै योजना प्रदेश सरकारमार्फत ओलानी क्षेत्रमा बजेट विनियोजन गरिएको बताए ।
पुल बन्नु ओलानीबासिका लागि खुसिको कुरा भएको वडा नम्बर १२ का वडा अध्यक्ष भीम बहादुर खड्काले बताए । उनले अहिले प्रदेश सरकार मार्फत पुल संगै बाटो पिचको लागि पनि बजेट विनियोजन गरिएकोमा खुसि व्यक्त गरे । त्यस्तै वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु)ले पुल बन्दा ईमरजेन्सीमा अस्पताल लग्नुपर्ने बिरामी, डेलिभरी महिलाहरुका लागि सहज हुने बताए ।
२०७६ साल देखिको लगातारको मिहेनत पछि चाक्लेखोला पुल निर्माणको काम सम्पन्न भएको वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष शिव विकले बताए । उनले पुल बनेकाले अब ओलानी बासीले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता हट्ने बताए ।
पुल निर्माण भएसंगै गोदावरीका वडा नम्बर १०, ११ र १२ का स्थानीयलाई सहज हुने भएको छ । यसअघि चाक्लेखोलामा पुल नहुँदा बर्षादको समयमा आवतजावत रोकिने गरेको थियो । सो क्षेत्रका जनताले विगत ४ दशक देखि पुलको माग गर्दै आएका थिए । पुल बनेपछी त्यस क्षेत्रका स्थानिय निकै हर्षित बनेका छन् ।
उक्त पुल प्रदेश सरकार पुर्वाधार विकास कार्यालको १ करोड ७२ लाख १ हजार ७ रुपियाँमा निर्माण गरिएको हो । २६.१ मिटर लम्बाई भएको सो पुलको बिच भागको चौडाई ६ मिटर र २ दशमलव ४ मिटर चौडाईको किनारामा फुटपाट रहेको छ । पुल निर्माणका लागि २०७७ साल असारमा जय धनन्जय-रोहित जेभि बर्दिया संग ठेक्का सम्झौता गरिएको थियो । पुलको २०७७ असोज १८ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए । १८ महिनामा निर्माण गर्ने भनिएको पुल कोरोना महामारीका कारण केही ढिलो गरि सम्पन्न भएको पुर्वाधार विकास कार्यालयले जनाएको छ ।